मुगु— नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय मुगुले आउँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल, तेल र चिनी बिक्री गर्न सुरु गरेको छ ।

कम्पनीले जिल्लाको छायाँनाथ रारा नगरपालिका, मुगु–कार्मारोङ गाउँपालिका र खत्याड गाउँपालिकाका उपभोक्तालाई लक्षित गरी गत सोमबारदेखि गमगढीस्थित शाखा कार्यालयबाट सहुलियत दरमा खाद्यान्न वितरण गर्न थालेको हो ।

सहुलियत दरमा खाद्यान्न पाइने भएपछि उपभोक्ताको भिड लागेको छ भने दैनिक लाखौं रुपैयाँको कारोबार भइरहेको छ ।

शाखा कार्यालय मुगुका सूचना अधिकारी मौसम माझीँका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यविधिअनुसार भदौ ३० गतेदेखि कात्तिक १० गतेसम्म चाडपर्व लक्षित खाद्यान्न सहुलियतमा बिक्री गरिनेछ ।

यस वर्ष खत्याड गाउँपालिकाको श्रीकोट डिपोबाट ४ सय क्विन्टल चामल, सोरुकोट डिपोबाट ४ सय क्विन्टल र गमगढी बजारस्थित शाखा कार्यालयबाट २ हजार क्विन्टल चामल, २ हजार लिटर तेल र २ हजार क्विन्टल चिनी सहुलियतमा बिक्री गरिने लक्ष्य लिइएको छ ।

चामलमा प्रति बोरामा १२५ रुपैयाँ छुट दिइएको छ भने तेलमा प्रति लिटर ७ रुपैयाँ सहुलियत दिइएको छ। दैनिक ६० क्विन्टल चामल र ३ हजार लिटर तेल बिक्री हुने गरेको जानकारी अधिकारी माझीँले दिए ।

बजार मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट पाइने चामल, तेल र चिनी सस्तो भएको र यसबेला चाडपर्वको अवसरमा थप छुट पाउँदा उपभोक्ताहरू खुसी भएका छन् ।