रामेछाप । एन्टिबायोटिक औषधिको दुरुपयोग रोक्ने र एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रण गर्ने उद्देश्यसहित मन्थली अस्पतालमा पिसाब तथा रगतको कल्चर सेवा सुरु गरिएको छ ।

आइतबार मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले औपचारिक रूपमा उक्त सेवाको उद्घाटन गर्दै अस्पतालको निरन्तर सेवा विस्तार भएकोमा खुसी व्यक्त गरे । 

‘अस्पतालमा जनशक्ति लगायतका चुनौती भएपनि नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन हामी निरन्तर प्रयत्नशील छौँ, देखिएका कमजोरीलाई सुधार गर्दै अस्पताललाई अझ सक्षम र विश्वासिलो बनाउनुपर्नेछ ।’

अस्पताल प्रमुख डा. केशव धामीका अनुसार यो सेवा सुरु भएपछि सङ्क्रमणको सही पहिचान गर्न सजिलो हुने र बिरामीलाई उपयुक्त एन्टिबायोटिक उपचार दिन सहज हुने अपेक्षा गरिएको छ । उनले अनावश्यक औषधि प्रयोगमा रोक लगाउँदै भविष्यमा औषधि प्रतिरोधी रोग नियन्त्रणमा पनि यो सेवा महत्त्वपूर्ण हुने बताए । 

‘अब रामेछापका बिरामीलाई उपचारका लागि काठमाडौं वा अन्य सहर धाउनुपर्ने बाध्यता घट्नेछ,’ उनले भने ।

यो अस्पतालबाट रामेछापसहित छिमेकी ओखलढुङ्गा, दोलखा, सोलुखुम्बु र सिन्धुली जिल्लाका सेवाग्राही लाभान्वित भइरहेका छन् । अस्पतालमा दैनिक २ सय बढी बिरामी उपचारको लागि आउने गर्दछन् ।