पर्वत— पर्वत जिल्लाको मोदी गाउँपालिका अन्तर्गत पर्ने पातीचौर–देउपुर–लप्सीबोट–भुकताङ्ले सडक स्थानीय बासिन्दाको श्रमदानमा मर्मत गरिएको छ। विगतमा पटक–पटक पहिरोले क्षति पुर्याउँदै आएको यस सडकमा यसपटक पनि पहिरोले करिब दुई किलोमिटर सडक बगाएपछि स्थानीय आफैं जुटेका हुन्।
उक्त सडक विसं २०५८ सालमा निर्माण गरिएको थियो। तर वर्षेनी पहिरोको जोखिममा पर्दै आएको यस सडकमा यसपटक पनि देउपुरस्थित कोरुङ्गा र दोबाटो क्षेत्रबाट खसेको पहिरोले सडक पूर्णरूपमा क्षतिग्रस्त बनाएको थियो।
सडक मर्मतका लागि सरकारी तहबाट कुनै सहयोग नपाएपछि मोदी गाउँपालिका–१, २ र ३ का करिब ४ सय स्थानीय बासिन्दाले श्रमदान गरेका हुन्। मर्मतकार्यमा झण्डै रु ४ लाख बराबरको श्रमदान गरिएको पूर्व वडाध्यक्ष विकास तिमिल्सिनाले जानकारी दिए।
“सरकारबाट सहयोग नआएपछि हामी आफैं जुटेर सडक मर्मत गर्नुपर्यो,” तिमिल्सिनाले भने, “चाडपर्व नजिकिँदै गर्दा सवारी आवागमन सहज बनाउन यो अत्यावश्यक थियो।”
पहिरोका कारण सडक अवरुद्ध भएपछि गाउँपालिकाको केन्द्र पातीचौर र पुष्पलाल मध्यपहाडी लोकमार्गसँगको सम्पर्क कटेको थियो। सडक मर्मत भएसँगै अब यात्रुहरूलाई चाडपर्वको समयमा आवत–जावत सहज हुने भएको छ।
यसअघि पहिरो नियन्त्रणका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालयमार्फत रु ३३ लाखको लागतमा योजना सुरु गरिएको थियो। तर काम नसकिँदै गत असारमा आएको ठूलो पहिरोले फेरि सडक बगाएको हो।
स्थानीयको सक्रियतामा सडक सञ्चालनमा आएको भए पनि स्थायी समाधानका लागि दीर्घकालीन योजना र सरकारी सहयोग आवश्यक रहेको स्थानीयको भनाइ छ।