कञ्चनपुर— कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार नेपाल–भारत सीमा गड्डाचौकी स्थित ७ नम्बर पिल्लर नजिक नागरिक सहायता कक्ष स्थापना गरिएको जनाएको हो । 

भारतबाट स्वदेश फर्कने सर्वसाधारणको सुरक्षा तथा सुविधाका लागि नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक खडक बहादुर खत्रीले बताए। 

गत बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गड्डाचौकी नाका तथा महेन्द्रनगर बस पार्कमा सुरक्षाकर्मीहरूले संयुक्तरुपमा यात्रु सहायता कक्ष स्थापना गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले जिल्लाका अन्य बजार तथा सीमा क्षेत्रमा समेत नागरिक सहायता कक्ष सञ्चालन गर्ने निर्णय गरेको थियो । चाडबाडलाई मध्यनजर गर्दै आइतबार गड्डाचौकी नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख खत्रीले बताए। 

वडा दसैँ, तिहार र छठ पर्व लाई लक्षित गरी सिमानाकामा आवतजावत गर्ने व्यक्तिहरूको सहजताको लागी प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली प्रहरी प्रमुख डम्मर बहादुर बिक लगायतको उपस्थितिमा नागरिक सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । त्यसै गरी नाकामा हुने सवारी लुटपाट, डकैती र दुर्घटना नियन्त्रण गर्न सडक सुरक्षा गस्ती समेत सुरु गरेको प्रहरीले जनाएको छ । 

यसैबिच, चाडपर्व नजिकिएसँगै कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा चहलपहल बढेको छ । रोजगारीको सिलसिलामा भारतका विभिन्न स्थानमा रहेका नेपालीहरू दसैँ र तिहार र छड पर्व मनाउनका लागि स्वदेश फर्किन थालेपछि नाकामा चहलपहल बढेको हो । दैनिक हजारौँ नागरिक स्वदेश फर्किन थालेपछि गड्डाचौकी नाकामा भिड लाग्न थालेको छ ।