बागलुङ— गत भदौ २९ गते बिहानदेखि बन्द भएको बागलुङ–सिगाना–बरेङ शान्तिपुर सडक सात दिनपछि पुनः सञ्चालनमा आएको छ।

बागलुङ नगरपालिका–८ सिगानामा माथिबाट ठूलो पहिरो खसेर सडक र एउटा गोठ पुरिएपछि सडक बन्द भएको थियो। पहिरोका कारण एक परिवार विस्थापित भएको छ। चट्टानसहितको भारी पहिरो हटाउन समय लागेको थियो।

आजदेखि सडक सञ्चालनमा आएपछि यात्रुहरू आफ्ना गन्तव्यमा जान थालेका छन्।

यो सडक ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत बागलुङ बजारदेखि सिगानासम्मको १० किलोमिटर कालोपत्र गरिएको थियो। सडक डिभिजन कार्यालय बागलुङले कर्ण वर्ल्डसलाई ठेक्का दिइएको थियो।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भने, “कार्यालय र निर्माण व्यवसायीको सहकार्यमा पहिरो हटाएर सडक पुनः सञ्चालनमा ल्याइएको छ। पुरिएको गोठबाट मृत भैँसी निकालिएको छ।”

उनी थपे, “क्षतिग्रस्त घरबाट सामग्री सार्न नगरप्रहरी र डोजरको सहयोग गरिएको छ। सडक डिभिजन कार्यालयको सहजीकरणमा लगातार पाँच दिन स्काभेटर प्रयोग गरी पहिरो हटाइएको हो।”