काठमाडौं— मानव अधिकार तथा शान्ति समाजले जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षतिबापत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कानुनी कारबाही गर्न माग गरेको छ।
४४औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आइतबार समाजले जारी गरेको विज्ञप्तिमा आन्दोलनको क्रममा भएको आगजनी, तोडफोड र लुटपाटबारे छानबिन गरी जिम्मेवारहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको हो।
सभापति रेनुका पौडेलद्वारा जारी विज्ञप्तिमा भ्रष्टाचार, कुशासन र दण्डहीनता शान्ति र स्थायित्वका मुख्य बाधक भएको उल्लेख गर्दै सुधारका लागि ठोस कदम चाल्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरिएको छ।
समाजले पूर्वविशिष्ट व्यक्तिहरूलाई दिइँदै आएको राज्यको सेवा–सुविधा कटौती गर्नुपर्ने र आन्दोलनका क्रममा ध्वस्त संरचनाको पुनर्निर्माणका लागि विशेष मन्त्रालय गठन गरी आगामी दशकलाई 'पुनर्निर्माण दशक' घोषणा गर्नुपर्ने प्रस्ताव राखेको छ।
विज्ञप्तिमा प्रहरी र प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त गरी स्वायत्त बनाउनु पर्ने र संवैधानिक तथा न्यायिक निकायहरूमा भागबण्डाका आधारमा गरिएका नियुक्ति हटाई सुधार गर्नु पर्ने माग पनि गरिएको छ।
समाजले अन्तरिम सरकारले सबै नागरिकका लागि अभिभावकको भूमिका निर्वाह गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा राखेको छ।
शान्ति दिवसको सन्दर्भमा शान्ति, सद्भाव, अहिंसा र सामाजिक मेलमिलापलाई शान्ति संस्कृतिको आधारका रूपमा विकास गर्न सबैलाई आग्रह गरिएको छ।
संयुक्त राष्ट्रसंघले सन् १९८१ मा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउन सुरु गरेको हो भने २००२ देखि हरेक सेप्टेम्बर २१ लाई स्थायी अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाइँदै आएको छ।