काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल नियुक्त हुने भएका छन् ।
जेन जीको प्रदर्शनपछि अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीले मुख्य सल्लाहकारमा खनाललाई नियुक्त गर्न लागेकी प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । ‘प्रधामनन्त्रीले खनाललाई आफ्नो मुख्य सल्लाहकारमा नियुक्त गर्ने सम्भवना छ’, स्रोतले भन्यो, ‘तर अहिले अन्तिम टुंगो लागेको छैन ।’
तीन जना मन्त्री नियुक्त गरेर सरकार चलाइरहेकी प्रधानमन्त्री कार्की अहिले टिम बनाउने काममा सक्रिय छिन् । उनले मन्त्रिपरिषद सदस्यमा कसलाई नियुक्त गर्ने विषयमा छलफल गरिरहेकी छिन् ।
२५ वर्षदेखि पत्रकारितामा संलग्न खनाल उकालो अभियानका पूर्वनिर्देशक हुन् । उनी उकालोडटकम र अंग्रेजी दैनिक द हिमालयन टाइम्सका पूर्वसम्पादक पनि हुन् । उनले कान्तिपुर दैनिकमा पनि काम गरेका छन् ।
पत्रकारितामा उनीसँग नेपालका विभिन्न संस्थानहरूमा गरी २५ वर्षभन्दा बढीको अनुभव छ । साथै उनी सामाजिक नवप्रवर्तन तथा परराष्ट्र नीति केन्द्र (सीइएसआइ) का अनुसन्धान सल्लाहकार पनि हुन् ।
पछिल्ला दुई वर्षदेखि उनी भ्रष्टाचार, दण्डहीनता, सुशासन र राष्ट्रिय सुरक्षासम्बन्धी चासोका विषयमा अनुसन्धान गरिरहेका छन् ।