हुम्ला—  जेन-जी आन्दोलनमा सहभागिता जनाएपछि हुम्लाका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन्। उनी काठमाडौंको तीनचुलीमा बसोबास गर्दै आएका २४ वर्षीय तामाङ भदौ २४ गतेको प्रदर्शनमा सहभागी भइसकेपछि सम्पर्कविहीन भएका हुन्।

स्थायी घर हुम्ला जिल्ला, नाम्खा गाउँपालिका–३, खगालगाउँका तामाङ तीनचुलीमा भतिजासँग डेरामा बस्दै आएका थिए। उनी भदौ २३ गते पनि आन्दोलनमा सहभागी भएका उनका बुबा टसी छिरिङले जानकारी दिए । भदौ २४ गते पुनः जेन-जी आन्दोलनमा सहभागी हुन निस्केका तामाङ त्यसपछि कोठा नफर्किएको परिवारको भनाइ छ।

बुबा टसी छिरिङले भने, “छोरा बिहान काम सकेर दिउँसो दुई बजे घर आयो। त्यसपछि आन्दोलनमा जान्छु भनेर निस्किएको थियो। त्यसयता कुनै खबर छैन।”

काठमाडौंका विभिन्न स्थानमा खोजी गर्दा समेत हालसम्म कुनै जानकारी नपाइएको बताइएको छ। यो विषयमा हुम्लाका स्थानीय सामाजिक संस्था नाम्ख्योम हुम्ला बौद्ध समाजले पनि चासो व्यक्त गर्दै छानबिन र खोजी कार्यका लागि सम्बन्धित निकायलाई आग्रह गरेको छ।

संस्थाका अध्यक्ष अंगबहादुर लामाका अनुसार बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदै बेपत्ता युवाको तत्काल खोजी गर्न सरकारसँग माग गरिएको छ।

नारायणथान गुम्बाबाट लामा ज्ञान अध्ययन सकेका थुक्तेन तामाङ राजधानीमा होटलमा काम गर्दै आएका थिए। उनी दुई दाजुभाइमध्ये कान्छा हुन्। परिवार र आफन्त अहिले गहिरो चिन्तामा छन् र तत्काल खोजी तथा अनुसन्धान अगाडि बढाउन सरकारसँग माग गरिरहेका छन्।