उदयपुर— प्रहरीले ट्याक्टर चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। त्रियुगा नगरपालिका–१३ स्थित बहेडवाका देवनारायण चौधरीको घरबाट बिहीबार दिउँसो हराएको ट्याक्टर चोरीमा संलग्नलाई १४ घण्टाभित्रै पक्राउ गरिएको हो।
चोरी भएको ट्याक्टर स १ त २८२३ नम्बरको हो, जुन चौधरीको घर अगाडि पार्किङमा राखिएको थियो। चोरीको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले खोजतलास गरेको थियो। शुक्रबार विहान ३ बजे त्रियुगा–१३ फुलजोरबाट चोरीमा संलग्न तीनै जनालाई ट्याक्टरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका–७ का २४ वर्षीय सुदिप चौधरी, चौदण्डीगढी–५ का २५ वर्षीय रोहितकुमार चौधरी र २४ वर्षीय चन्दनकुमार चौधरी रहेका छन्। उनीहरूसँग चोरीमा प्रयोग भएको बा६३ प ५४७५ नम्बरको स्कुटर पनि फेला परेको छ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।