काठमाडौं— काठमाडौंको बबरमहलस्थित दुर्गामाता मन्दिर नजिकै एक असामान्य दृश्य देखिएको छ। जेनजी आन्दोलनका क्रममा शनिवार मन्दिर नजिकै बाघको मुर्ति र रातो रंग भएको (बा ५९ प ४३८५ नम्बर) को स्कुटर फेला परेको छ।
स्थानीयवासी झलक पाण्डेले बाघको मुर्ति मन्दिरभित्र सुरक्षित रूपमा राखिएको जानकारी दिएका छन् भने अर्का स्थानीय हिमाल मगरले सडकमा अवरोध हुनेगरी छाडिएको स्कुटरलाई मेघा कलेज नजिकै सुरक्षित स्थानमा राखिएको बताए।
हालसम्म ती वस्तुहरू कसले ल्याएको वा कसको हो भन्नेबारे कुनै जानकारी नआएको स्थानीय दिवस मगरले जनाएका छन्।
जेनजी आन्दोलनकै दौरान भेटिएका यी वस्तुहरूले आन्दोलनको अव्यवस्थित पक्ष उजागर गरेको स्थानीयवासीको भनाइ छ। उनीहरूका अनुसार, आन्दोलन शान्तिपूर्ण हुनुपर्नेमा यसरी वस्तुहरू छाडिनुले जनमानसमा असुरक्षा र अन्योल सिर्जना गरेको छ।
स्थानीयवासीहरूले भेटिएका वस्तुहरू प्रमाणसहित सम्पर्क गर्ने जो-कोहीलाई फिर्ता गरिने जानकारी दिएका छन्। साथै, स्कुटर वा मुर्तिका वास्तविक धनीलाई प्रमाणसहित सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
हाल बाघको मुर्ति दुर्गामाता मन्दिरभित्र सुरक्षित अवस्थामा छ भने स्कुटर मेघा कलेज नजिकै राखिएको छ।






































