सुर्खेत— संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा बिहानी प्रभातफेरी आयोजना गरिएको छ। सरकारी कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहभागितामा भएको प्रभातफेरीमा राजनीतिक दलका नेताहरुको उपस्थिति औपचारिक मात्रै देखिएको छ।

भर्खरैको जेनजी आन्दोलनले धेरै सरकारी संरचना र पार्टी कार्यालयहरू खण्डहर बनेका वीरेन्द्रनगरमा संविधान दिवसको उत्साह आम नागरिकहरूमा देखिएन। प्रभातफेरी वीरेन्द्रनगर बजार परिक्रमा गर्दै सुर्खेत रंगशालामा सम्पन्न विशेष समारोहमा परिणत भएको थियो।

समारोहमा सम्बोधन गर्ने वक्ताहरूले संविधानको रक्षा र कार्यान्वयनका लागि नागरिक सचेतना अपरिहार्य रहेको बताएका थिए। उनीहरूले संविधानमाथि विभिन्न कोणबाट चुनौती आइरहेका बेला आम जनताको जागरूकता नै लोकतन्त्रको रक्षा गर्ने मूल आधार भएको औंल्याए।

यसपटकको संविधान दिवसले सुरक्षाकर्मी र सरकारी संयन्त्रको उपस्थिति देखाए पनि सर्वसाधारणको न्यून सहभागिताले राजनीतिक परिवर्तनप्रति जनताको मोहभंग झल्किएको विश्लेषण भइरहेको छ।