चेकर्स, बेलायत— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धलाई रोक्ने आफ्नो प्रयासमा ‘वास्तवमै निराश पारेको’ बताएका छन् ।

बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले रुसी नेतामाथि थप दबाब दिन आह्वान गरिरहँदा उनले पुटिनले वास्तवमै निराश बनाएको बताएका हुन् । बेलायतको राजकीय भ्रमणका क्रममा स्टार्मरसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले द्वन्द्व अन्त्य गर्न नसक्नु आफ्नो ‘सबैभन्दा ठूलो निराशा’ भएको बताए । उनले पुटिनविरुद्ध आफ्नो आगामी कदमको बारेमा भने केही बताएनन् ।

यसैबीच उनले पुटिनलाई वार्ताको टेबलमा ल्याउन बाध्य पार्न पश्चिमी सहयोगीहरूलाई रुसी तेल किन्न बन्द गर्न आग्रह गरेका छन् । यद्यपि, उनले मस्कोविरुद्ध कुनै पनि एकपक्षीय कदम चाल्नबाट भने पछि हटेको देखिन्छ ।

अमेरिकी राष्ट्रपतिले अगस्टमा पुटिनलाई वार्ताका लागि अलास्कामा आमन्त्रण गरेका थिए। उनले रुसी नेताप्रति बारम्बार झुकाव राख्दा आफ्ना सहयोगीहरू निराश बन्न पुगेका स्वीकार गरेका छन् ।

ट्रम्पले भने, “रूसी राष्ट्रपति पुटिनसँगको मेरो सम्बन्धका कारण मैले सोचेको द्वन्द्व सबैभन्दा सजिलो हुनेछ तर उहाँले मलाई निराश पार्नुभएको छ । उहाँले वास्तवमै मलाई निराश पार्नुभएको छ।”

ट्रम्पले युक्रेनमा शान्ति छाउने आशा गर्दै अगाडि भने, “रुस र युक्रेनले यो काम पूरा गर्नेछन्।”

बेलायती प्रधानमन्त्री स्टार्मरले अमेरिकी नेताबाट किएभका लागि थप प्रतिबद्धताहरू सुरक्षित गर्ने प्रयास ९विशेष गरी युक्रेनमा युद्ध०मा ट्रम्प र युरोपेली सहयोगीहरूको आफूलाई पुलको रूपमा प्रस्तुत गरेका छन् ।

उनले ट्रम्पलाई प्रत्यक्ष रूपमा नचिढाउन सावधानी अपनाएको देखिन्थ्यो। उनले अमेरिकी राष्ट्रपतिका रूपमा आफूले रूसी समकक्षी पुटिनमाथि कसरी ‘निर्णायक रूपमा दबाब बढाउने’ भनेर छलफललाई जारी राख्ने बताए ।