काठमाडौं— राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभालाई जनमुखी बनाउन आह्वान गरेकी छन् । 

संविधान दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले राष्ट्रियसभाअन्तर्गतका समितिलाई सबल बनाउने, नीतिगत छलफललाई गहिरो बनाउने, नागरिक सरोकारका मुद्दामा नियमित बहस गर्ने र सरकारलाई आवश्यक सुझाव प्रदान गर्ने अभ्यास बढाउनुपर्ने आवश्यकता औँल्याएकी हुन् । 

उनले भनिन् ,‘जनप्रतिनिधि तथा संस्थामाथि भएका आक्रमण र असुरक्षाका घटनाले लोकतन्त्रको आधारलाई कमजोर पार्ने प्रयास भएको देखिन्छ, लोकतन्त्रलाई बलियो बनाउन संवाद, सहमति र सहकार्य अपरिहार्य हुन्छ । हिंसा र असहिष्णुताले कुनै समाधान दिँदैन, बरु समाजलाई अझै ध्रुवीकरणतर्फ धकेल्छ ।’

ठूलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समृद्धितर्फको यात्रामा अगाडि बढ्नु अहिलेको प्राथमिकता रहको उनको भनाइ छ । 

लामो सङ्घर्ष, त्याग र बलिदानको फलस्वरुप नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत आफ्नो संविधान आफैँ लेख्ने अवसर पाएका हुन् । नेपाली जनताको लोकतन्त्रप्रतिको समर्पित भावना र दृढ इच्छाशक्तिकै कारण संविधानमार्फत जनतामा निहित सार्वभौमसत्ताको प्रयोग र स्वशासनको अधिकार प्राप्त भएको उनको भनाइ छ । 

शुभकामना सन्देशमा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्पसहित सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका वर्तमान संविधानका आधारभूत विशेषताका रूपमा अङ्गीकार गरिएको छ ।’