काठमाडौं— डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा देखिएको आन्तरिक विवाद थप चुलिएको छ। पार्टीका केन्द्रीय तहका ६ नेताले बिहीबार पार्टी परित्याग गरेका छन्।
बुधबार मात्र पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका ती नेताहरूले आज साधारण सदस्यता समेत त्याग गर्दै पार्टी परित्याग गरेका हुन्।
राजीनामा दिने नेताहरूमा १.अब्दुल खान, वरिष्ठ उपध्याक्ष, २.डा. शरद सिंह यादव, केन्द्रिय प्रवक्ता, ३. संजय कुमार यादव, केन्द्रिय संयोजक, जनमत युवा संघ, ४. सि.के.सिंह, केन्द्रिय संयोजक, जनमत स्वास्थ्यकर्मी संघ, ५.राजाराम चौधरी, वरिष्ठ प्रदेश इन्चार्ज, सुदूरपश्चिम प्रदेश र ६. विक्रम बहादुर बम, राष्ट्रीय परिषद सदस्य तथा केन्द्रिय सदस्य रहेका छन् ।
उनीहरूले पार्टीभित्र व्यापक एकल निर्णय प्रवृत्ति, राजनीतिक विचलन र मूल विचारधाराबाट विचलित हुँदै गएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए। अध्यक्ष राउत नेतृत्वप्रति असहमति जनाउँदै उनीहरूले वैकल्पिक राजनीतिक यात्रा सुरु गर्ने संकेतसमेत दिएका छन्।
जनमत पार्टीले अहिलेसम्म यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन। पार्टीभित्रको यो विभाजनले मधेसकेन्द्रित राजनीतिमा थप हलचल ल्याउने देखिएको छ।