खोटाङ— खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी रेस्मिका परियारको हत्यामा संलग्न रहेको आशंकामा एक किशोर पक्राउ परेका छन्। करिब १५–१६ वर्ष उमेरका ती किशोरलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।
भदौ ३० गते साँझ बेपत्ता भएकी परियारको शव स्थानीय मार्से सामुदायिक वनमा फेला परेको थियो। उनी अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन् र पञ्चमी बजारस्थित कार्यालयबाट घर फर्किने क्रममा हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए।
प्रहरीका अनुसार, परियारमाथि बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंका छ। घटनाको विस्तृत अनुसन्धानका लागि बिहीबार किशोरलाई अदालतमा पेश गरी म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
कार्यवाहक वडाअध्यक्ष सुवास प्रधानका अनुसार परियार घर नफर्किएपछि खोजी सुरु गरिएको थियो। खोजतलासका क्रममा बाटो नजिकै चप्पल फेला परेपछि तलतिर खोज्दा उनको शव भेटिएको थियो।
मृतकको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको छ।






































