काठमाडौं— गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले सर्वोच्च अदालत परिसरमा तोडफोड र आगजनी गरेका थिए। त्यसको असरस्वरूप अदालतको भौतिक संरचना क्षतिग्रस्त भएपछि अहिले त्रिपालमुनी अस्थायी रूपमा मुद्दा सुनुवाईको काम चलिरहेको छ।
बिहीबार अदालतले दुई जना बन्दीसम्बन्धी मुद्दाको सुनुवाई त्रिपालमुनी बसेर सम्पन्न गरेको हो। सुविधासम्पन्न भवनमा हुने संवैधानिक प्रकृया अहिले असहज परिस्थितिबाट गुज्रिरहेको छ।
सर्वोच्च अदालतका कर्मचारीहरूका अनुसार, क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माण प्रक्रिया सुरु हुन बाँकी छ। तर, न्याय सेवा नरोकिने उद्देश्यले अस्थायी व्यवस्थामै भए पनि मुद्दा सुनुवाईलाई निरन्तरता दिइएको हो।
जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमाथि गरिएको तोडफोड र आगजनीलाई धेरैले लोकतन्त्र र विधिको शासनमाथिको गम्भीर आक्रमणको रूपमा लिएका छन्।