काठमाडौं— जनमत पार्टीभित्र नेतृत्वको असन्तुष्टि सतहमा आएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित शीर्ष नेताहरूले अध्यक्ष डा. सिके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन सार्वजनिकरूपमा माग गरेका छन्।

बुधबार जारी गरिएको सामूहिक हस्ताक्षरयुक्त वक्तव्यमा अध्यक्ष डा। राउतसँगै संगठन विभाग प्रमुख जयकान्त राउतको पनि राजीनामा माग गरिएको छ। वक्तव्यमा उल्लेख गरिएअनुसार, पार्टी नेतृत्वको कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको उद्देश्य र मार्गदर्शनलाई नै कमजोर बनाएको आरोप छ।

वक्तव्यमा भनिएको छ, 'जनताको अथक संघर्षबाट निर्माण भएको पार्टी पछिल्लो समय नेतृत्वको कमजोरीका कारण दिशाहीन हुँदै गएको छ।'

राजीनामा माग गर्ने नेताहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा। शरतसिंह यादव, जनमत युवा सङ्घ संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घ संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बम छन्।

पार्टीभित्रको यो असन्तुष्टि राजनीतिक संकटको सङ्केत हो कि नेतृत्व परिवर्तनको सुरुवात—भन्ने चर्चा सुरु भएको छ। राउतले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।