हेटौँडा— बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले बुधबार आज आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले प्रदेशसभा उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा पत्रमा उनले नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार पदत्याग गरेको उल्लेख गरेका छन्।
पाठकले आफ्नो राजीनामा भावनात्मक कारणले प्रेरित भएको बताएका छन्। भदौ २३ गते 'जेन-ज' नामक युवाहरूको समूहद्वारा गरिएको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा सुरक्षाकर्मीले गरेको अस्वाभाविक बल प्रयोगका कारण युवाहरूको ज्यान गएको घटनाले आफू गहिरो रूपमा प्रभावित भएको उनको भनाइ छ।
'राष्ट्र रोइरहेको अवस्थामा, नेपाली नागरिकको चाहना र युवाको भावना विपरीत पदमा रहिरहनु नैतिक दृष्टिले उचित हुँदैन भन्ने महसुस भयो,' पाठकले उल्लेख गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रदेशसभा सदस्य बनेका पाठकले भदौ २४ गते नै राजीनामा दिने घोषणा गरेका थिए।