काठमाडौं— इजरायली सेनाको गाजा सिटीमा जारी भूमिगत आक्रमणबीच दुई दिनमै करिब ४८ हजार मानिसहरू भाग्न बाध्य भएको संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओचा) ले मंगलबार जनाएको छ ।

ओचाका अनुसार अगस्ट मध्यदेखि सोमबारसम्म १ लाख ९० हजारभन्दा बढी विस्थापन गतिविधिहरू देखिएको छ । जसमा धेरैजसो मानिसहरू अत्यधिक यातायात खर्चका कारण पैदल हिँडेर नौ घण्टासम्म यात्रा गरिरहेका छन् । धेरैजसो परिवारहरू महिला र वृद्ध सदस्यहरूको नेतृत्वमा, घाइते बालबालिकासहित, तातो मौसममा नाङ्गा खुट्टा हिँडिरहेको ओचाले जनाएको छ ।

यसबीच, ओचाका सहयोगी संस्थाहरूले १ हजार पाँचसय भन्दा बढी व्यक्तिहरूलाई मनोसामाजिक सहयोग, पानी, र स्वास्थ्य सेवा जस्ता आपत्कालीन सहयोग प्रदान गरेको पनि जनाइएको छ । जसमा नौ सय भन्दा बढी बालबालिका छन् ।

इजरायली सेनाले गाजा सिटीलाई “खतरनाक युद्ध क्षेत्र” घोषणा गर्दै, त्यहाँका बासिन्दालाई दक्षिण र केन्द्रीय गाजाका भीडभाडयुक्त ‘मानवीय क्षेत्र’ हरूतर्फ सर्न आग्रह गर्दै पर्चा खसालेका छन् । तर यी क्षेत्रहरूमा समेत इजरायली वायु आक्रमण र बमबारी जारी रहेकाले ठूलो संख्यामा नागरिक हताहत भइरहेका छन् ।