काठमाडौं—  जेनजी आन्दोलनका क्रममा विभिन्न सञ्चारगृहहरूमा भएको क्षतिको नेपाल पत्रकार महासङ्घले स्थलगत अनुगमन गरेको छ।

महासङ्घका अध्यक्ष निर्मला शर्मासहितको टोलीले सोमबार राजधानीका प्रमुख सञ्चारगृहहरूको निरीक्षण गरेको हो। आन्दोलनका क्रममा कान्तिपुर टेलिभिजन, कान्तिपुर पब्लिकेसन, अन्नपूर्ण पोस्ट, थाहा सञ्जाल, कान्तिपुर एफएम लगायतका सञ्चार संस्थाहरूमा तोडफोड र आगजनी भएको थियो। केही सञ्चारगृहहरू अझै पनि प्रतीकात्मक संरचना मार्फत सेवा सञ्चालन गरिरहेका छन्।

अनुगमनपछि पत्रकार महासङ्घले विज्ञप्ति जारी गर्दै भौतिक संरचनामा ठूलो क्षति पुगे पनि पत्रकारहरूले आफ्नो पेशागत दायित्व निर्वाह गर्दै लोकतन्त्रको रक्षा गरेको उल्लेख गरेको छ।

अध्यक्ष शर्माले भने, “सूचना प्रवाहको निरन्तरता कायम राख्नु, आन्दोलनको कठिन परिस्थितिमा पनि पत्रकारिता जीवित राख्नु अत्यन्त प्रशंसनीय छ।”

महासङ्घले आन्दोलनका क्रममा केही पत्रकारमाथि भएको कुटपिट र दुव्र्यवहारलाई गम्भीर आपत्तिको विषय भन्दै घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न सरकारलाई आग्रह गरेको छ।

अनुगमनका क्रममा उपत्यका बाहिरका केही सञ्चारगृहमा पनि नियोजित रूपमा आक्रमण भएको पाइएकाले देशभरको अवस्था समेटिएको विस्तृत अनुगमन प्रतिवेदन चाँडै सार्वजनिक गरिने अध्यक्ष शर्माले जानकारी दिइन्।

महासङ्घले घाइते पत्रकारको तत्काल उपचार, सञ्चारगृहमा भएको क्षतिको उचित क्षतिपूर्ति र प्रेस स्वतन्त्रताको रक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ।