काठमाडौं— भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरुको सम्मानमा आज अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै शवयात्रा र अन्त्येष्टि कार्यक्रम आयोजना गरिँदैछ।

गत भदौ २३ गते देशव्यापी रूपमा भएको आन्दोलनमा प्रहरी हस्तक्षेपका कारण धेरै जेनजी आन्दोलनकारीले ज्यान गुमाएका थिए। उनीहरुको बलिदानलाई सम्झँदै आज राजधानी काठमाडौंमा विशेष शवयात्रा आयोजना गरिएको हो।

टिचिङ अस्पताल महाराजगञ्जबाट सुरु हुने शवयात्रा चक्रपथको एक परिक्रमा गर्दै ती युवाहरुको अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ। शवयात्रामा आन्दोलनमा सहभागी कार्यकर्ता, पीडित परिवारजन, मानव अधिकारकर्मी र विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागी हुने जनाइएको छ।

काठमाडौं बाहिरका पीडितहरूको लागि नेपाली सेनाले हेलिकप्टरको व्यवस्था समेत गरेको छ, जसबाट मृतकका शवहरू उनीहरूको जन्मथलो पुर्‍याईने र त्यहाँ अन्त्येष्टि गरिनेछ।

सरकारको ढिलासुस्ती, बल प्रयोग र जवाफदेहिताको अभावविरुद्ध सडकमा उत्रिएका जेनजी पुस्ताका युवाहरुको बलिदानले देशभर जनआक्रोश चुलिएको छ। आजको कार्यक्रम उनीहरूप्रति श्रद्धाञ्जली मात्र नभएर, प्रणालीगत परिवर्तनको मागलाई पुनः बल दिने प्रयोजनका साथ आयोजित भएको बताइएको छ।

शवयात्राका क्रममा सम्भावित भिडलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ। यद्यपि आयोजकहरूले कार्यक्रम पूर्णरूपमा शान्तिपूर्ण र सम्मानजनक हुने विश्वास व्यक्त गरेका छन्।