बाँके— स्रोत नखुलेको नगद रकमसहित तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बेलुकी कोहलपुर नगरपालिका–२ स्थित सालको बुटा नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा कोहलपुर–५ का १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोका २६ वर्षीय ऋषिकेश मिश्रा रहेका छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले बा ८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा नगद रु ७ लाख ६६ हजारसहित फेला पारेको थियो। रकमको स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।