कञ्चनपुर— जेनजी आन्दोलनको क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका २३९ जना कैदीबन्दीहरु कारागारमा फर्किएका छन्। फिर्ता आएका कैदीबन्दीमध्ये २२७ जना पुरुष र १२ जना महिला रहेका कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीले जानकारी दिए ।
उक्त कारागारमा कुल ४७९ जना कैदीबन्दी थिए । जसमा लागूऔषध सम्बन्धी अभियोगमा मात्रै १६९ जना कैदी थुनामा रहेका थिए।
त्यसैगरी कारागारमा रहेका २८ जना भारतीय कैदीबन्दीमध्ये हालसम्म १० जनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिन सकेको छ। बाँकी १८ जना भारतीय कैदी अझै फरार छन्।
प्रशासक जोशीका अनुसार, “कारागारबाट निस्केका केही कैदीहरू सम्पर्कमा छन्। उनीहरूले तीन दिनभित्र फिर्ता हुने बताएका छन्।” सम्पर्कमा नरहेका फरार कैदीहरूको खोजीका लागि प्रहरीले आवश्यक कदम चालेको जनाइएको छ।