मकवानपुर— मकवानपुरको राक्सिराङ गाउँपालिका–१, इन्द्रुङमा एक दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। सामाजिक रूपमा पछाडि पारिएको चेपाङ समुदायकी ती महिला अपाङ्गता (बोल्न असमर्थता) भएको अवस्थामा यौन हिंसाको शिकार बनेकी हुन्।
२०८२ भदौ २६ गतेको राति एक व्यक्तिले ती महिलाका श्रीमानलाई रुखमा बाँधेर सुत्केरी श्रीमतीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ । राक्सिराङ प्रहरी चौकीका इञ्चार्ज नवीन सिंहका अनुसार घटनामा संलग्न रहेको अभियोगमा स्थानीय ४२ वर्षीय अन्तरे थिङलाई पक्राउ गरिएको छ। उनलाई आइतबार साँझ पक्राउ गरी थप अनुसन्धानका लागि मनहरी इलाका प्रहरी कार्यालयमा पठाइएको छ।
अझै पनि अमानवीय तवरले गरिएको उक्त अपराधका क्रममा आरोपीले श्रीमानलाई 'कोही आएको छ कि छैन हेर' भनी अपमानजनक आदेश दिएको विवरण अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार पीडित दम्पती दुवै जनाको बोल्ने क्षमता कमजोर छ र उनीहरूको स्थायी बसोबासको व्यवस्था पनि छैन। यस्तो संवेदनशील अवस्थामा उनीहरू हिंसाको सिकार बनेका हुन्।
प्रहरीले घटनामा अन्य व्यक्तिहरूको संलग्नता रहेरनरहेको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।