काठमाडौं— सागर डिस्टीलरीको आईपीओमा सर्वसाधारणले सोमबारबाट आवेदन दिन सक्ने भएका छन् ।

कम्पनीले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि खुला गर्ने भनेको आईपीओ जेनजी प्रदर्शनपछि स्थगित गरिएको थियो । तर, सोमबारबाट कम्पनीले कुल ११ लाख ९० हजार ६४० कित्ता सेयर खुला गरेको हो ।

कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।

सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ भने ४३ हजार ५६० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरेको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्कासन गरेको हो ।

भदौ ३० गतेदेखि खुला भएको यस आईपीओमा छिटोमा असोज २ गते र ढिलोमा १३ गतेसम्म आवेदन दिन सकिनेछ जसमा, न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन सकिनेछ ।