काठमाडौं— जेनजी पुस्ताको प्रदर्शनका क्रममा निषेधित क्षेत्र बानेश्वरमा रहेको संसद भवन अगाडी प्रदर्शन हिंसात्मक बन्दै गएको छ। सो क्रममा सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएपछि सो क्षेत्रको अवस्था अझ तनावपूर्ण बनेको हो।
सरकारले स्थिति नियन्त्रणमा लिन काठमाडौं उपत्यकाका संवेदनशील क्षेत्रहरूमा कर्फ्यू आदेश जारी गरे पनि, बानेश्वरमा भने त्यसको खासै प्रभाव देखिएन । प्रदर्शनकारीहरू अझ आक्रोशित हुनुका साथै सडकबाटै सरकार विरुद्ध नाराबाजी गरेका छन् । आक्रोषित भएका उनीहरुले संंसद भवनमा लगाएको वालसमेत तोडफोड गरेका छन्।
संसद भवन आसपासको क्षेत्रमा व्यापक सुरक्षा घेराबन्दी गरिएको छ। सुरक्षाकर्मीले भीड तितरबितर पार्न निरन्तर अश्रुग्यास प्रहार गर्नुका साथै रबरको गोली, पानीको फोहोरा र ढुंगा समेत प्रहार गरिरहेका छन्। संसद् भवनको एक कुनामा प्रदर्शनकारीले बारम्बार आगजनीको प्रयास गरेको सुरक्षास्रोतले जनाएको छ।
भीड र भागदौडका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीको भनाइ छ।