काठमाडौं— नयाँबानेश्वरमा भएको प्रदर्शन कभरेजका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन्। प्रदर्शनस्थलमा भिडको गतिविधि क्यामेरामा कैद गरिरहेका बेला उनलाई प्रहरीले प्रहार गरेको रबरको गोली पाखुरामा लागेको हो।

घाइते श्रेष्ठलाई तत्काल सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले बताएका छन् । नायव समाचार प्रमुख श्रेष्ठका अनुसार प्रदर्शन कभर गर्न गएका पत्रकारमाथि भएको घटनाले मिडिया सुरक्षा सम्बन्धी चिन्ता थपिएको छ।

माइतीघर मण्डलाबाट सुरु भएको जेनजीको प्रदर्शन बिस्तारै आक्रोशित हुँदै संसद भवनसम्म पुगेको थियो। भिड नियन्त्रणमा लिन प्रहरीले प्रयास गरे पनि सफल हुन सकेन। अवस्था बेकाबु बन्दै गएपछि प्रहरीले बल प्रयोग गरेको थियो। अहिले सो क्षेत्रलगायतका ठाउँमा कफ्र्य जारी रहेको छ ।