काठमाडौं— सामाजिक सञ्जाल बन्दको विरोधमा घोषणा गरिएको आन्दोलनलाई समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवाहरूलाई विशेष सन्देश पठाएका छन् । हाल नख्खु कारागारमा रहेका लामिछानेले आफ्ना समर्थक र युवा पुस्तालाई विवेकपूर्वक र शान्तिपूर्ण ढंगमा सडकमा उत्रन आह्वान गरेका हुन् ।

निजी सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा लामिछानेले लेखेका छन्, ‘तपाईंहरू सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईंहरूमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुन सक्छ ।’ 

उनले शासकहरूले न त विधिको शासन दिन सकेको र न नै सामाजिक सञ्जालमा आफ्ना भावना बाँड्ने स्वतन्त्रता दिएको आरोप लगाउँदै भनेका छन्, ‘सत्ता र शक्तिको नशामा चुर यिनीहरूलाई थाहा छैन, तपाईंहरूको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ ।’

सन्देशमा लामिछानेले सम्भावित उकासाहट र षड्यन्त्रप्रति पनि सचेत रहन आग्रह गरेका छन् । ‘घुसपैठ हुन सक्छ, सचेत हुनुहोस्। उत्तेजित बनाउन सक्छन्, विवेक प्रयोग गर्नुहोस्,’ भन्दै उनले प्रदर्शनमा संयमता अपनाउन आग्रह गरेका छन् ।

आन्दोलनलाई ऐतिहासिक दिनको रूपमा उल्लेख गर्दै उनले लेखेका छन्, ‘भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हो । तपाईंको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईंकै हातबाट लेखिँदैछ ।’

उनले नख्खु जेलको कालकोठरीबाट युवाहरूप्रति ‘शुभेक्षा, सद्भाव र ऐक्यबद्धता’ व्यक्त गरेको बताएका छन् ।