रामेछाप— रामेछापको रामेछाप नगरपालिका शनिबारबाट बालमैत्री शासन सञ्चालन भएको नगरपालिका बनेको छ ।
शनिबार रामेछापको टुँडिखेलमा आयोजित कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले रामेछाप नगरलाई बालमैत्री शासन सञ्चालन भएको नगर घोषणा गरे । नगरपालिका प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बानियाँले रामेछापलाई बालमैत्री नगर घोषणा गर्दै यसलाई कायम राख्न आग्रह गरे ।
कार्यक्रममा नगरप्रमुख न्यौपानेले रामेछाप नगरमा ७ हजार ८८ घरधुरी रहेका र त्यसमा ३६ हजार ६ सय २१ जनसङ्ख्या रहेको जानकारी दिए । १८ वर्ष मुनिका १० हजार २ सय ४१ जना बालबालिका रहेका उनले बताए ।
उनका अनुसार समुदाय स्तरमा ८३ वटा र विद्यायस्तरमा ३० गरी कुल १ सय १३ वटा बाल समूह सञ्जाल बनेका छन् । त्यस्तै वडा र नगरस्तरमा समेत बाल सञ्जाल बनेका छन् । जसमा २ हजार ४२ जना बालबालिका आबद्ध छन् ।
रामेछाप नगरपालिका वाग्मती प्रदेशमा बालमैत्री स्थानीय शासन युक्त स्थानीय तहको १२ औँ नम्बरमा परेको छ । यस अघि ११ वटा स्थानीय तह बालमैत्री शासन सञ्चालन भएका स्थानीय तह घोषणा भइसकेका छन् ।