काठमाडौं— परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्य (केयर वर्क) घर, समुदाय तथा राष्ट्रकै एक पेशा मात्र नभएर मानवीय सेवा पनि भएको बताएकी छिन् । एसिया प्यासिफिक केयर लर्निङ् सम्बन्धी काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय सेमिनारलाई बिहीबार सम्बोधन गर्दै उनले बाल्यकालदेखि वृद्धावस्थासम्मका हेरचाहसम्बन्धी समग्र कार्यहरुहरुलाई केवल पेशा या जागिरका रुपमा मात्र हेरिन नहुँने बताइन् । 

उनले भने ‘बाल्यकालदेखि वृद्धावस्थासम्मका हेरचाहसम्बन्धी समग्र कार्यहरुहरुलाई केवल पेशा या जागिरका रुपमा मात्र हेरिनु हुँदैन, यो त एउटा मानवीय सेवा पनि हो ।’

हेरचाहसम्बन्धी कार्यको यो अपरिहार्य भूमिकाका बाबजुद पनि घर, समुदाय तथा राष्ट्रियस्तरमा यसको मूल्याङ्कन कमै मात्र गरिएको र अर्थतन्त्रमा यसको योगदानका बारेमा खोजी नगरिएको उनले बताइन् । 

मन्त्री डा. राणाले नेपालमाा यस क्षेत्रको योगदान लगभग कृषिकै बराबरीको रहेको र प्रायः महिलाले नै यसको असमान भार बोकिरहेको बताउँदै यसले अर्थतन्त्र, राजनीति र सार्वजनिक जीवनमा हुने महिला सहभागितालाई अवरुद्ध गरेको बताइन् । 

नेपालले परिवर्तनको आवश्यकतालाई पहिचान गरेको र १६औँ आवधिक योजनाले पहिलोपटक हेरचाहलाई हाम्रो विकास दृष्टिकोणको केन्द्रमा राखेको पनि उनले बताइन् । मन्त्री डा. राणाले हेरचाहमा गरिने लगानीलाई खर्चका रुपमा नलिई उच्च प्रतिफलयुक्त लगानीका रुपमा हेरिनुपर्ने बताउँदै स्वास्थ्य र शिक्षा हेरचाहमा रहेको अहिलेको अभावलाई पूरा गर्न सके नेपालमा लाखौँ नयाँ रोजगारी सिर्जना हुने र त्यसको कम्तीमा पनि ६० प्रतिशत महिलाहरूकै पक्षमा रहने अध्ययनहरुले देखाएको स्पष्ट गरिन् । 

सीमित पूर्वाधार, दक्ष हेरचाहकर्मीको अभाव र जनचेतनाको कमी यस क्षेत्रका चुनौती रहेका र सम्मानजनक रोजगारीको सिर्जना, सामाजिक सुरक्षाको विस्तार र हेरचाहकर्मीलाई उचित पारिश्रमिकको व्यवस्था गरेर चुनौतीको सामना गर्न सकिने उनले बताइन् ।