काठमाडौं— सत्तारुढ दल नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारको निर्णय फिर्ता गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले जनतालाई थप सास्ती, हैरानी र झन्झटमात्र बढाएको भन्दै इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारको निर्णयमा आपत्ति जनाएका हुन् ।

सांसद नेम्वाङले आवश्यक पूर्वाधार प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अगाडि बढाउन माग गरे ।

उनले गाडी किन्नासाथ उच्च कर, हरेक वर्ष अनिवार्य बिमा, सडक कर तिर्न लामो लाइन र लाइसेन्स बनाउन फारम, परीक्षा र लामो प्रतीक्षा झेलेका जनताले इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनले थप सास्ती, हैरानी र झन्झट व्यहोर्नुपर्ने बताए ।