काठमाडौं— अमेरिकाले एकसाथ ३७ नेपालीलाई डिपोर्ट गरेको छ । अमेरिकाले उनीहरूलाई चार्टर्ड विमानमार्फत बिहीबार काठमाडौं ल्याएर छोड्ने अध्यागमन विभागले जनाएको छ ।

 “अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली बुधबार काठमाडौं आइपुग्ने जानकारी प्राप्त भएको थियो । तर, प्राविधिक कारण देखाउँदै २४ घण्टा सारिएको छ,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले बाह्रखरीसँग भने, “अब उहाँहरू भोलि बेलुकी ५ बजे आइपुग्ने जानकारी प्राप्त भएको छ ।”

 एकसाथ यति ठूलो संख्यामा अमेरिकाले डिपोर्ट गरी पठाएको यो दोस्रो पटक हो । यसअघि २०८२ जेठ २५ गते अमेरिकाले डिपोर्ट गरी पठाएका ३७ जना नेपाली काठमाडौं आइपुगेका थिए । उनीहरूलाई पनि अमेरिकाले चार्टर्ड विमानमा नेपाल पठाएको थियो । 

डोनाल्ड ट्रम्प अमेरिकाको दोस्रो पटक राष्ट्रपति भएयता हालसम्म २१५ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् । ट्रम्पले सन् २०२५ जनवरी २० मा राष्ट्रपतिको शपथ लिएका थिए । अमेरिकामा बस्नका लागि कानुनी आधार स्थापित गर्न नसक्ने नेपाली नागरिकलाई डिपोर्ट गरिएको अमेरिकाले बताउँदै आएको छ ।

 काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट भएका नेपाली काठमाडौं आउनु केही दिनअघि त्यसबारे अध्यागमन विभागलाई जानकारी दिने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाउने गरिएको छ ।

 प्रायः अवैधबाटो अमेरिका गएकाहरू डिपोर्टमा पर्ने गरेका छन् । यसैकारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गरेको छ । खासगरी उनीहरूलाई अमेरिका पठाउने (मानव तस्कर) का बारेमा उनीहरूसँग सूचना लिने काम प्रहरीले गर्छ ।

अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसायले अमेरिकामा बसेको र बिनाभिसा बसेकोजस्ता आरोप डिपोर्ट भएकाहरूमाथि अमेरिकाले लगाएको छ । 

ट्रम्पले राष्ट्रपति निर्वाचन अभियानकै क्रममा आप्रवासीमाथि कडाइ गर्ने घोषणा गरेका थिए । निर्वाचित भएपछि राष्ट्रपतिको शपथ लिएलगत्तै उनले अवैध आप्रवासीलाई निष्कासन गर्नेसम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

 त्यसपछि ट्रम्प प्रशासनले निष्कासित गर्ने एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको सूची सार्वजनिक गरेको थियो । उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोबास गरेको आरोप लगाइएको थियो । सन् २०२४ मा अमेरिकाले ३५ नेपालीलाई डिपोर्ट गरेको थियो ।