काठमाडौं— नेपाल प्रहरीका ३१औँ आईजीपी दीपक थापासँगै आज दुई एआईजी पनि अवकास हुँदैछन् ।

२०८१ चैत ४ गते आईजीपी नियुक्त थापा प्रहरी सेवामा प्रवेश गरेको ३० वर्षे अवधी पूरा गरी आज अवकास हुन लागेका हुन् । थापाले आईजीपीका रुपमा ६ महिनाभन्दा केही दिन बढी जिम्मेवारी सम्हालेका छन् ।

अवकासप्राप्त आईजीपी थापालाई आज गृह मन्त्रालयले बिदाइ गर्ने कार्यक्रम छ । गृह सचिव गोकर्णमणि दुवाडीले उनलाई बिदाइ गर्ने कार्यक्रम तय भएको हो । गृह सचिव दुवाडीले नै ६ महिनाअघि थापालाई आईजीपीको दज्र्यानी चिह्न लगाइदिएका थिए ।

आईजीपी थापासँगै आज एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी पनि ३० वर्षे सेवाअवधी पूरा गरी अवकास हुँदैछन् । उनीहरु २०५२ भदौ १८ मा नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा भर्ना भएका थिए । उनीहरुको अवकासपछि नेपाल प्रहरीमा चार एआईजी पद रिक्त हुँदैछ ।

एआईजी कृष्णहरि शर्मा पोखरेल गत साता उमेर हदका कारण अवकास भएका छन् । अर्का, एआईजी चन्द्रकुवेर खापुङ १९ गते विहीबारदेखि लागु हुने गरी आईजीपी नियुक्त भइसकेका छन् ।