काठमाडौं— काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङबाट सुन र नगदसहित पक्राउ परेका विनोद श्रेष्ठलाई प्रहरीले राजस्वमा बुझाउने निर्णय गरेको छ । छापा मारेर श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार नगद र ९ केजी ८३७ ग्राम सुनका गहना प्रहरीले बरामद गरेको थियो ।
गोरखा नगरपालिका वडा नम्बर–६ घर भइ गोंगबु बस्दै आएका श्रेष्ठमाथि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।
श्रेष्ठको घरमा चामलको बोरामा लुकाएर राखेको नगद र सुनका गहना भेटिएको प्रहरीको भनाइ छ। ७६ वर्षीय श्रेष्ठले छोराहरूको ‘एडिबी’ नामको कम्पनी रहेको र बैंकबाट ९ लाखभन्दा धेरैको कारोबार गर्न नमिल्ने भएका कारण घरमा नै नगद राखेको प्रहरीसँग बताएका छन् ।
उनले धरौटीको रूपमा सुन राखेर पैसा ब्याजमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनको घरबाट प्रहरीले ३ केजी २१८ ग्राम चाँदी पनि बरामद गरेको छ ।