दार्चुला— दार्चुला जिल्लाको नौगाड गाउँपालिका–५ सौकेबगरस्थित भित्री सडकमा भएको अटो दुर्घटनामा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव फेला परेको छ।
सोमबार दिउँसो होपरीगाडबाट मसिनेबगरतर्फ जाँदै गरेको म १ ह ११४८ नम्बरको अटो अनियन्त्रित भई करीब ५० फिट तल नौगाड खोलामा खसेको थियो।
दुर्घटनापछि बेपत्ता भएका पाँच यात्रुमध्ये १२ वर्षीया आरुषा धामीको शव घटनास्थल नजिकै करिब ७ मिटर पश्चिममा र १७ वर्षीया भागा धामीको शव ७ किलोमिटर तल भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
४७ वर्षीया चाखुरी देवी धामी अझै बेपत्ता छिन्। उनको खोजीकार्य जारी रहेको छ। अटो चालक प्रहरीको नियन्त्रणमा छन्।
दुर्घटनामा गम्भीर घाइते भएका १६ वर्षीय आयुष भुललाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ।
घटनाको जानकारी पाएसँगै सशस्त्र प्रहरी नायब निरीक्षक दलजित सिंह डोबालको नेतृत्वमा चमेलीया जलविद्युत सुरक्षा बेस बलाँचबाट उद्धार टोली परिचालित गरिएको थियो। खोजीमा नेपाल प्रहरी, जलविद्युतका कर्मचारी र स्थानीयवासीले समेत सहयोग गरेका छन्।