काठमाडौं— भक्तपुर जिल्ला अदालतले साँगा झोलुङ्गे पुल प्रकरणमा आशिका तामाङ र शरण तिरुवालाई दोषी ठहर गर्दै कैद सजाय तोकेको छ ।

न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आपराधिक उपद्रवसम्बन्धी मुद्दामा उनीहरूलाई पाँच दिन कैद सजाय सुनाएको अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन् । 

मामिला भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा रहेको साँगा झोलुङ्गे पुलमा शुल्क उठाउने विषयसँग सम्बन्धित छ । पुल पार गर्न तोकिएको रकम प्रति व्यक्ति २० रुपैयाँ लिँदै आएको अवस्थामा तामाङले बोर्ड च्यात्ने, शुल्क संकलनमा खटिएका कर्मचारीलाई दुर्व्यवहार गर्ने कार्य गरेको अभियोग थियो । 

सो घटनापछि नगरपालिकाले आपराधिक उपद्रवको मुद्दा दायर गरेको हो । अदालतले तामाङ र तिरुवालाई ५ दिन कैदसहित ५ सय रुपैयाँ जरिवाना, ८ हजार ३ सय रुपैयाँ क्षतिपूर्ति र पीडित राहत कोषमा जनही २ सय रुपैयाँ बुझाउन आदेश दिएको छ । 

कैदसहितको सजाय तोकिए पनि तामाङले भने आफ्नो फेसबुकमार्फत आफूलाई सफाइ दिएको दाबी गरेकी छन् । 

‘भक्तपुर जिल्ला अदालतले साँगाको झोलुङ्गे पुल तर्ने क्रममा २० रुपैयाँ शुल्कको विरोध गरेको मुद्दामा आज मलाई सफाइ दिएको छ,’ उनले लेखेकी छन् ।