बर्दिया— बर्दियाको बढैयाताल गाउँपालिकाबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। भारतबाट शंकास्पद रूपमा नेपाल प्रवेश गरिरहेका उनीहरूलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका २३ वर्षीय सरोजकुमार थारु, २३ वर्षीय रुपेश थारु र मधुवन नगरपालिका–९ का २५ वर्षीय आशिक तामाङ रहेका छन्।

प्रहरीका अनुसार सरोज र रुपेशलाई बढैयाताल गाउँपालिका–७ बाट नियन्त्रणमा लिइएको हो। उनीहरूले साथमा लुकाएर ल्याएको ब्राउन सुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ २६० मिलिग्राम फेला परेको छ।

त्यसैगरी, बढैयाताल–८ स्थित सिमापुरबाट नेपाल प्रवेश गर्दै गरेका आशिक तामाङको साथबाट ३६० मिलिग्राम ब्राउन सुगरजस्तो लागुऔषध बरामद गरिएको प्रहरीको भनाइ छ।

बिहीबार तीनै जनाविरुद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए।