काठमाडौं— प्रमुख प्रतिपक्षी दलको बिरोधका कारण मधेश प्रदेशसभाको आजको बैठक सुरु भएको केही समयपछि स्थगित भएको छ ।
आज दिउँसो बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरुले बिरोध जनाएका थिए। त्यसपछि सभामुख रामचन्द्र मण्डलले जनता समाजबादी पार्टी नेपालका प्रदेशसभा सदस्य राम अशिष यादवलाई बोल्न समय दिएका थिए।
प्रदेशसभा सदस्य यादवले प्रदेश सरकारले संसद्लाई छलेर प्रतिपक्षको अनुपस्थितिमा बजेट ल्याएको हुनाले अर्थमन्त्री सुनिलप्रसाद साहको राजीनामा माग गरे । उनले प्रतिपक्षी दलका प्रदेशसभा सदस्यको उपस्थिति बिना बजेट ल्याइनु गलत भएको उल्लेख गर्दै अर्थमन्त्रीको राजीनामा नआएसम्म आफूहरुले प्रदेशसभा अवरुद्ध गर्ने बताए।
“सरकारले मधेश प्रदेशसभामा प्रस्तुत गरेको रेडबुक ४६१ पृष्ठको मात्रै थियो । तर, प्रतिपक्षको अवरुद्धपछि गठन भएको कार्यदलले संसदलाई छलेर ३०५ पृष्ठको बजेट ल्याएको भेटियो, प्रतिपक्षको अनुपस्थितिमा बजेट पारित भएको छ”, उनले भने।
त्यसपछि सभामुख मण्डलले प्रदेशसभाको अर्को बैठक यही भदौ १४ गते शुक्रबार दिउँसो १ बजे बस्ने घोषणा गरे ।
बैठक जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका हुन्।