भक्तपुर— जिल्ला अदालत सामाजिक अभियन्ताका रुपमा परिचित आशिका तामाङलाई सफाइ दिएको छ ।
भक्तपुरको साँगास्थित झोलुङ्गे पुल तरेको २० लिने नियमको विरोध गरेको आरोपमा मुद्दा खेपेपकी उनलाई बिहीबार न्यायाधीश विश्वनाथ भट्टराईले सफाइ दिएका हुन् ।
पुलमा रकम उठाएको विरोध गर्दै रसिद बुक च्यातिदिएपछि पक्राउ परेकी उनलाई प्रहरीले आपराधिक उपद्रव गर्न नहुने कसुरमा मुद्दा चलाएको थियो ।
उक्त कसुरको मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालत भक्तपुरका न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले आशिकालाई २०८१ माघ १८ गते २० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो ।
उक्त मुद्दाको अन्तिम फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश भट्टराईले आशिकालाई सफाइ दिने फैसला सुनाएका हुन् ।
उनीविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान गरेको थियो ।
आशिकाले २०८१ असोज ४ गते सूर्यविनायक नगरपालिका–९ बाट वडा नं. १० मा जाने झोलुङ्गे पुल चढ्दा लाग्ने शुल्कबारे विरोध गर्दै सामाजिक सञ्जालमा भिडियो हालेकी थिइन् ।
उनले त्यसपछि साँगाको झोलुङ्गे पुल तर्दा लिइने २० रुपैयाँ शुल्कको रसिद बुक पनि जलाइदिएकी थिइन् । त्यसपछि आशिकाविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा आपराधिक उपद्रवको जाहेरी दिएको थियो ।
प्रहरी वृत्त गौशालामा अभद्र व्यवहारको कसुरमा मुद्दा खेपेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाएर मुद्दा चलाइएको थियो ।