काठमाडौं— शिक्षकमाथि सार्वजनिक रूपमै कुटपिट गर्ने घटनामा मुछिएका प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष वृजकिशोर कुशवाहामाथि प्रहरीले अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ।
घटना साउन २८ गते भएको थियो । वडाध्यक्ष कुशवाहाले आफ्नै वडामा बसोबास गर्दै आएका शिक्षक नागेश्वर यादवलाई कुटपिट गरेका थिए। भोला मावि महागढीमाई नगरपालिका–१० गञ्जभवानीपुरका यादव शिक्षक हुन । उनले ट्युसन सेन्टर पनि सञ्चालन गर्दै आएका थिए।
वडाध्यक्षले छात्रामाथि अभद्र व्यवहार गरेको आरोप लगाउँदै शिक्षकलाई आफ्नो कार्यालयमा बोलाएका थिए । उनले यादवलाई अर्धनग्न बनाउँदै हात बाँधेर कुटपिट गरेका थिए। सो घटनाको भिडियो मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक जनआक्रोश र चासोको विषय बनेको छ।
पीडित यादवले बाराको जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि प्रहरीले कुशवाहालाई आठ दिनअघि नै पक्राउ गरेको हो। घटना सार्वजनिक भएपछि मात्रै थाहा भएको थियो।
प्रहरीका अनुसार वडाध्यक्षले मादक पदार्थ सेवन गरेर आफु माथि कुटपिट भएको पीडितको आरोप छ। आरोपित माथि अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बाराका एसपी सन्तोष तामाङले जानकारी दिएका छन्।