काठमाडौं— प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १५ वर्षअघिको अपहरण र बलात्कार मुद्दाका फरार दुई अभियुक्तलाई काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको साविक पुरहरि गाविस–८ का यादव टण्डन र सोही ठाउँका चन्द्रबहादुर बीएम (बुढामगर) रहेका छन्।
सिआइबीका प्रवक्ता तथा एसपी युवराज खड्काका अनुसार उनीहरूलाई १५ असार २०६७ मा घटेको घटनासम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। टण्डन र बुढामगरले तुलसीपुरबाट एक युवतीलाई अपहरण गरी दाङको पात्लु खोला बगरमा लगेर बलात्कार गरेका थिए।
उक्त घटनामा अदालतले टण्डनलाई १६ वर्ष कैद र बुढामगरलाई ६ वर्ष कैदको सजाय सुनाएको थियो। तर, उनीहरू फरार रहँदै आएका थिए।
अहिले पक्राउ परेका उनीहरूलाई अदालतको फैसला कार्यान्वयनका लागि पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।