सिन्धुपाल्चोक— जिल्लाबाट चीन जोड्ने भोटेकोसी गाउँपालिका—४ हिन्दीमा मंगलबार बोलेरो जिप भोटेकोसीमा खस्दा चालकसहित २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सर्लाही बरथहवा नगरपालिका—२ बस्ने २३ वर्षीय चालक राजेशकुमार कुसवाह र २५ वर्षीय सहचालक राम प्रवेश महत्तो रहेका छन् ।
तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ को जिप सडकबाट भोटेकोसी नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका जिल्ला प्रहरी सिन्धुपाल्चोकले जनाएको छ । बेपत्ता भएका दुबै जनाको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।
दुर्घटना भएको जिपलाई एक्स्काभेटरको सहयोगमा डोरी लगाएर तान्ने बेलामा एक पुरुष व्यक्तिको शव भोटेकोसी नदीले बगाएको थियो । अर्को शव पहिले नै बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । भोटेकोसीले बगाएको व्यक्तिको शव प्रहरी चौकी हिन्दी र इलाका प्रहरी कार्यालय बाह्रबिसेले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।