सिरहा— सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीका आगलागी पीडित बालकृष्ण यादवको परिवारलाई स्थानीय समाजसेवी जयकृष्ण यादवले राहत सामग्री वितरण गरेका छन्।

भदौ ४ गते राति विद्युत सर्ट भएर भएको आगलागीमा बालकृष्ण यादवको घरसहित खाद्यान्न, लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट भएको थियो। विपन्न अवस्थाका यादव परिवारको बसोबास फुसको छाप्रो मा थियो, जहाँ उनी श्रीमती, दुई छोरी र एक छोरा गरी पाँचजनाको परिवारसहित बस्दै आएका थिए।

आगलागिपछि खान लाउनसमेत समस्या परेको अवस्थामा सोमबार समाजसेवी यादवले पीडित परिवारलाई खाद्यान्न तथा आवश्यक लत्ताकपडा हस्तान्तरण गरेका हुन्।

“राहत पाएपछि थोरै भए पनि अब बालबच्चासँग भोकै बस्नुपर्ने अवस्था हटेको छ,” पीडित बालकृष्ण यादवले भावुक हुँदै भने।

स्थानीय स्तरमा दिइएको सहयोगले तत्कालका लागि राहत पुगे पनि दीर्घकालीन पुनःस्थापनाका लागि अझै थप सहयोग आवश्यक देखिन्छ।