काठमाडौं— नक्कली सुनलाई सक्कली भनी विभिन्न व्यक्तिहरूलाई झुक्याएर ठगी गर्ने एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्ति सोलुखुम्बु दुधकुण्ड नगरपालिका–१ टाक्सिण्डो निवासी ३३ वर्षीय लाक्पा शेर्पा हुन्। उनलाई काठमाडौं महानगरपालिका–२६ स्थित गोंगबुको क्वालिटी क्याफेबाट प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले अवैध सुनको किनबेच भइरहेको भन्ने सूचनाका आधारमा शेर्पालाई १ किलोग्राम सुनजस्तो देखिने धातुसहित पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानमा उनले नक्कली सुनलाई सक्कली भनी विश्वास दिलाई विभिन्न व्यक्तिहरूसँग ठगी गर्ने गरेको खुल्न आएको छ। बरामद धातुको परीक्षण गर्दा सुन नभएको पुष्टि भएको प्रहरीले जनाएको छ।
हाल उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको छ।