काठमाडौं— जबरजस्ती करणीको आरोपमा झापाबाट दुई जना र नुवाकोटबाट एक जना गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

झापाको कचनकवल गाउँपालिका–७ निवासी ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्न बहादुर तामाङलाई १६ वर्षीया बालिकामाथि करणी गरेको उजुरीको आधारमा आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। घटनाबारे प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

त्यसैगरी, नुवाकोटको बिदुर नगरपालिका–३ मैरीटारका ३५ वर्षीय बाबुराम माझीलाई पनि करणी अभियोगमा पक्राउ गरिएको छ। उनलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा आइतबार साँझ प्रहरी चौकी देवीघाटबाट खटिएको टोलीले पक्राउ गरेको हो।

प्रहरीले तीनै जना विरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।