रौतहट– रौतहटको गौर–सिरसिया सडकखण्डमा सुटकेसभित्र मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतक २६ वर्षीया रुबिकुमारी साह सुडी हुन्, । उनी  गौर नगरपालिका–२ महादेवपट्टिमा डेरा गरी बस्दै आएकी थिइन्।

माधवनारायण नगरपालिका–६ माधोपुर माइती भएकी महिला भएको प्रहरीले जनाएको छ । मृतकको वैवाहिक घर भारतको बिहार राज्य, मुज्जफरपुर जिल्लास्थित रक्साटोलमा पर्छ। उनी त्यहाँका शिव सागर साहकी पत्नी हुन्।

रुबिकुमारीले आफ्नो चार वर्षीय छोरालाई पढाउने उद्देश्यले केही वर्षदेखि आमा सँगै गौरमा डेरा लिएर बस्दै आएकी थिइन्। मृतकको बुबा राम विनोद साह सुडी झन्डै तीन दशकदेखि भारतमा स्थायी रूपमा बसोबास गर्दै आएका छन्।

हिजो साँझ करिब ६ बजेतिर “व्युटी पार्लर जान्छु” भनी डेराबाट निस्केकी रुबिकुमारी राति साढे १० बजे गौर नगरपालिका–९ मुडवलवा मोड नजिकैको सडक छेउमा डोरीले बाँधिएको सुटकेसभित्र मृत फेला परेकी थिइन्।

प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान र मुचुल्का तयार गरेपछि शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ।