चपुर  ।   रौतहटमा सडकमा भेटिएको  सुटकेस भित्र एक महिलाको शव फेला परेको छ।

रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राती १०:३० बजे संकास्पद सुटकेस फेला परेको थियो। प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको उक्त  सुटकेस खोलेपछि भित्र महिलाको शव भेटिएको छ। 

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली रातिदेखि नै घटनास्थलमा परिचालन गरिएको थियो। महिलाको हत्या गरी सुटकेशमा हालिएको हुन सक्ने अनुमान रहेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाएको छ भने घटनाको प्रकृति हेर्दा हत्या भएको अनुमान गरिएको छ। यसबारे थप विवरण अनुसन्धानपछि मात्र सार्वजनिक गरिने प्रहरीले जनाएको छ।