काठमाडौं– गृहमन्त्री रमेश लेखकले २०५२ सालदेखि २०८२ को असारसम्मको अवधिमा माइन तथा विभिन्न विस्फोटनजन्य घटनाका कारण प्रहरी र सर्वसाधारण गरी ६५१ जनाको ज्यान गएको जानकारी दिएका छन्।
राष्ट्रिय सभामा सांसद मदनकुमार साहको प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले सो अवधिमा २,८९९ जना घाइते भएको बताए। द्वन्द्वकालीन घटनाका मृतकका हकदारलाई सरकारले प्रत्येकलाई १० लाख रुपैयाँ राहत प्रदान गरिसकेको जानकारी उनले दिए।
शहीद तथा घाइतेका सन्तानलाई वार्षिक रुपमा छात्रवृत्ति, टुहुरा बालबालिकालाई १८ वर्षसम्म मासिक ५ हजार रुपैयाँ र घाइते अपाङ्गहरूलाई अपाङ्गताको प्रतिशतअनुसार मासिक भत्ता दिइँदै आएको गृहमन्त्री लेखकको भनाइ छ।
गृहमन्त्री लेखकले पीडितका लागि राहत, उपचार खर्च, आर्थिक सहायता लगायतका कार्यहरू 'सशस्त्र द्वन्द्वका कारण पीडित भएका व्यक्तिहरूको परिपूरणसम्बन्धी मापदण्ड, २०७९'अनुसार भइरहेको स्पष्ट पारे।
सरकारले द्वन्द्वकालीन पीडितका हकहितमा निरन्तर काम गरिरहेको समेत मन्त्री लेखकले बताएका छन्।