विराटनगर— कोसी प्रदेश सरकारले प्रस्तुत गरेको सञ्चार विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएका पत्रकार र प्रहरीबीच शुक्रबार घम्साघम्सी भएको छ।
सञ्चार विधेयकको विरोधस्वरूप संसद् भवनबाहिर निषेधित क्षेत्रमा नेपाल पत्रकार महासंघ कोसी प्रदेशसहितका पत्रकारहरूले प्रदर्शन गरेका थिए। सो क्रममा प्रहरीले धर्ना हटाउन खोज्दा पत्रकारसँग झडप भएको हो।
संसदीय पत्रकारले कोसी प्रदेशसभा परिसरमा शान्तिपूर्ण धर्ना दिएका थिए भने महासंघका प्रतिनिधिहरू परिसरबाहिर विरोधमा उत्रिएका थिए। प्रहरीले निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै रोक्न खोज्दा स्थिति तनावपूर्ण बनेको हो।
विवादित सञ्चार विधेयक शुक्रबार न्याय प्रशासन तथा विधायन समितिबाट पारित भएर प्रदेश सभामा पेस गरिएको हो। सो विधेयकमा पत्रकारले समाचार प्रकाशन वा प्रसारण गर्दा तोकिएको मापदण्ड उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना गरिने प्रावधान समावेश छ। यही बुँदालाई लिएर पत्रकारहरू आक्रोशित छन्।
नेपाल पत्रकार महासंघ कोसी प्रदेश अध्यक्ष भरत खड्काले विधेयक प्रेस स्वतन्त्रताविरुद्ध रहेको भन्दै यसविरुद्ध संघर्ष जारी रहने बताए।
प्रहरी र पत्रकारबीचको झडपलाई लिएर थप अनुसन्धान तथा संवादका प्रयास भइरहेको छ।