बुटवल— रुपन्देहीमा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश समिति सल्लाहकार हरिप्रसाद कँडेल पक्राउ परेका छन्।
चितवनको कालिका नगरपालिका–५, पदमपुर निवासी कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनले ‘कलेज कोच नेपाल प्रालि’ नामक शैक्षिक परामर्श संस्था सञ्चालन गर्दै आएका थिए।
यसअघि साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट भारतको कानपुर निवासी २५ वर्षीय अभिषेक यादव नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ परेका थिए। यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका १०० वटा ट्रान्सक्रिप्ट, ३६ वटा खाली प्रमाणपत्र, ३ वटा नक्कली प्रमाणपत्र, ५ वटा स्ट्याम्प प्याड, नक्कली होलोग्राम र स्टिकर बरामद गरिएको थियो।
प्रारम्भिक बयानमा यादवले आफू कँडेलका लागि काम गर्ने गरेको स्वीकार गरेपछि कँडेलमाथि अनुसन्धान तीव्र पारिएको प्रहरीको भनाइ छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        